हिमाली आदिवासी शेर्पा समुदायले बुधबार ग्याल्पो ल्होसार मनाउँदै¸राष्ट्रपति¸प्रधानमन्त्रीद्धारा शुभकामना ।।

२६ फागुण बुधबार २०७२

हिमाली आदिवासी शेर्पा समुदायले आज चाड ग्याल्पो ल्होसार मनाउँदैछन् । ल्होसारका राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै शेर्पा जातिको महान् पर्व नयाँ वर्ष ‘‘ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा विश्व पर्वतारोहणको इतिहासमा अनेकौँ कीर्तिमान कायम गरेर संसारभरि नेपालको गौरव फैलाउने शेर्पा समुदायको यस महान् पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ
विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्रको शेर्पा जाति तथा समुदायको संस्कृति, भाषा, वेशभूषा र परम्परा आफैँमा मौलिक, सुसंस्कृत, सम्पन्न र समृद्ध रहेको राष्ट्रपतिको शुभकामनामा उल्लेख छ ।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली आदिवासी शेर्पाको चाड ग्याल्पो ल्होसार२०७२ का अवसरमा यस समुदायका सबैप्रति सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले शुभकामना सन्देश दिँदै यो पर्वले सम्पूर्ण शेर्पा समुदायमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र शेर्पा समुदाय र अन्य समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याओस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ
चाडपर्वले सम्बन्धित समुदायमा नयाँ उमङ्ग, हौसला र उत्साह प्रदान गर्दछन् । विभिन्न समुदायको धार्मिक र सांस्कृतिक पर्वले आपसमा भाइचारा स्थापित मात्र गर्दैनन्, सबै धर्म, जातजाति, भाषा र संस्कृति मान्ने समुदायलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान गर्न, संरक्षण र सम्वर्द्धन गर्न पनि अभिप्रेरित गर्दछन्,’ सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ

0 Response to "हिमाली आदिवासी शेर्पा समुदायले बुधबार ग्याल्पो ल्होसार मनाउँदै¸राष्ट्रपति¸प्रधानमन्त्रीद्धारा शुभकामना ।।"

Post a Comment

Powered by सुदिप श्रेष्ठ