नेपाली कांग्रेसको सभापतिमा देउवा निर्वाचित¸ अब ओली नेतृत्वको सरकार ढाल्ने देउवा निकट नेताहरुको उद्घोष ।।
२५ फागुन मंगलबार २०७२
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । सोमबार
भएको दोश्रो चरणको मतदानमा रामचन्द्र पौडेललाई बहुमतले पराजित गर्दै देउवा पहिलो
पल्ट नेपाली कांग्रेसको सभापतिमा चयन हुनु भएको हो ।
देउवाले १८ सय २२ मत पाउनु भयो भने पौडेलले १२ सय ९६ मत पाउनु भयो । कुल ३१ सय २० मत
खसेकोमा बाँकि मत बदर भएको छ । आइतबार भएको चुनावमा देउवा, पौडेल र अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला कसैले पनि ५० प्रतिशतभन्दा धेरै
मत नल्याएका कारण सोमबार दोश्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा कम मत ल्याउने
सिटौला बाहिरिएका कारण सोमबार देउवा र पौडेलबिच प्रतिस्पर्धा भएको हो ।उहाँ २०५७
सालमा पोखरामा भएको दशौं महाधिबेशनदेखि कांग्रेसको सभापतिमा उठ्दै आउनु भएको
थियो । २०५७ सालमा गिरिजाप्रसाद कोइरालासँग हारेका देउवाले २०६७ सालमा भएको
बाह्रौं महाधिबेशनमा सुशील कोइरालासँग पराजय भोग्नु भएको थियो । २०६२ सालमा कांग्रेसको एघारौं महाधिबेशन हुनु
अघि नै देउवाले नेपाली कांग्रेस त्यागेर नेपाली कांग्रेस प्रजातान्त्रिक स्थापना
गर्नुभएको थियो । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक एक भएपछि
बाह्रौं महाधिबेशन भएको थियो ।
कांग्रेस सभापतिमा नवनिर्वाचित शेरबहादुर देउवाको जन्म
विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा
भएको हो । हाल उहाँको बसोबास काठमाडौंको बुढानिलकण्ठ नगरपालिका भद्रकाली हो ।
तीनपटक प्रधानमन्त्री र एकपटक गृहमन्त्री बनेका शेरवहादुर देउवा २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचन तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको
निर्वाचनमा डडेलधुराबाट विजयी हुनुभएको थियो ।
विसं २०५१ मा भएको मध्यावधि
चुनावपछि उहाँ कांग्रेसको संसदीय दलको नेतामा चुनिनुभयो र विसं २०५२ मा पहिलो पटक
नेपालको प्रधानमन्त्री बन्नुभयो । विसं २०५९ मा दोश्रो पटक प्रधानमन्त्री हुनुभएका
उहाँ त्यसको दुई वर्षपछि २०६१ सालमा फेरि प्रधानमन्त्री बन्नुभएको थियो । तत्कालिन
राजा ज्ञानेन्द्रले उहाँलाई असक्षम प्रधानमन्त्री भन्दै हटाएर शासन सत्ता आफ्नो
हातमा लिएका थिए ।
उहाँ अहिले डडेलधुराबाट व्यवस्थापिका–संसदमा
प्रतिनिधित्व गर्नुहुन्छ । संविधानसभाको दोश्रो चुनावमा उहाँ कैलालीको क्षेत्र
नम्बर ४ बाट पनि चुनाव जित्नुभएको थियो । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले कु
गरेर निरंकुश पञ्चायती ब्यवस्था लादेपछि देउवा राजनीतिमा आकर्षित हुनुभएको हो ।
विद्यार्र्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसंघका पहिलो सभापति
हुनुहुन्छ । नेविसंघको नेतृत्व गर्दा उहाँ कांग्रेसका संस्थापक नेता विपी
कोइरालाले पनि रुचाइएका नेतामा पर्नुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालयबाट
राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउवा बेलायतको लन्डन स्कुल
अफ इकोनमिक्सका रिसर्च फेलो हुनुहुन्छ । उहाँकी धर्मपत्नी आरजु पनि सांसद्
हुनुहुन्छ । देउवाका एक छोरा छन् ।
देउवा नेपाली कांग्रेसको विभाजनपछि बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को
सभापति बन्नुभएको थियो । कांग्रेससँगको एकतापछि उहाँ नेपाली कांग्रेसको वरिष्ठ
नेता हुनुभएको हो । उहाँ ११ cf} महाधिवशेनमा गिरिजाप्रसाद कोइराला र १२ औँ महाधिवेशनमा सुशील कोइरालासँग
सभापतिमा पराजित हुनुभएको थियो । देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत मुलुकको भ्रमण गर्नुभएको छ ।
यसैबिच नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा
निर्वाचित भएसँगै ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने देउवानिकट एक नेताले उद्घोष
गरेका छन् ।
देउवा सभापतिमा निर्वाचित भए लगत्तै सोमबारराती सञ्चारकर्मीसँग कुरा
गर्दै उहाँका विश्वास पात्र मानिने बालकृष्ण खाँडले ओली नेतृत्वको सरकार परिवर्तन
हुने बताउनुभएको हो ।कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने चर्चा चलिरहेका
बेला सभापतिको मत परिणाम सार्वजनिक भए लगत्तै देउवानिकट नेताहरुले राष्ट्रिय सरकार
बनाउने बताएका हुन् ।अहिलेको सरकारले संविधान कार्यान्वायन गरेर देशलाई निकास दिन नसक्ने
खाँडको भनाई छ ।
यसैबिच नेपाली कांग्रेसको महामन्त्रीसहित केन्द्रीय
सदस्यहरुको मत गणना मंगलबार दिउँसो १ बजे हुने भएको छ ।कांग्रेसको निर्वाचन
समितिले अब महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरुको मत गणना
सुरु गर्ने निर्णय गरेको छ । गोपाल कृष्ण घिमिरेका अनुसार दिउँसो १ बजेबाट पार्टी
कार्यालय सानेपामा मतगणना सुरु हुनेछ ।उहाँका अनुसार महामन्त्री र कोषाध्यक्षको मत
परिणाम साँझसम्म आइसक्ने छ भने अरुको समय लाग्नेछ ।महामन्त्रीमा देउवा प्यानलबाट
अर्जुननरसिंह केसीसँगै बीवी पुत्र शशांक कोइराला र गगन थापा चुनावी मैदान हुनुहुन्छ
।


0 Response to "नेपाली कांग्रेसको सभापतिमा देउवा निर्वाचित¸ अब ओली नेतृत्वको सरकार ढाल्ने देउवा निकट नेताहरुको उद्घोष ।।"
Post a Comment