विमान दुर्घटना रोक्न आइडिया दिने महावीरलाई विज्ञप्ति निकालेरै धम्की !

काठमाण्डु, १७ फागुन– नेपाल हवाई यातायात नियन्त्रक सङ्घले पोखराबाट जोमसोम जान लागेको विमान म्याग्दीमा दुर्घटना भएको विषयलाई लिएर म्यागासासे पुरस्कार विजयी महावीर पुनले भड्काउने खालका प्रतिक्रिया दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
mahavir punसङ्घका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा म्याग्दीको सोलीघोप्टेमा विमान दुर्घटना भएको विषयलाई लिएर पुनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दिएको भ्रामक तथा सर्वसाधारणको भावना भड्काउने खालको प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘नेपालमा उड्डयन क्षेत्रमा मौसमी विवरण दिने आधिकारिक निकाय जलवायु तथा मौसम विज्ञान विभागमात्र रहेको छ, उक्त विभागले विश्व जलवायू संगठन (World Meteorology Organization)  को सम्बन्धन प्राप्त गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको एनएक्स–३ ले तोकिएका तालिमप्राप्त, दक्षजनशक्ति र अन्य उपकरणको सहयोगमा प्रमाणीकरण गरिएका मौसमी विवरणमात्र वायुसेवा कम्पनी, हवाई चालक तथा हवाई यातायात नियन्त्रकलाई उपलब्ध गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
उपकरणको स्तरीयता र विश्वसनीयताको मापदण्ड निर्धारण नभएका व्यक्ति वा संस्थाले स्वेच्छिकरुपमा प्रदान गर्ने अप्रमाणित मौसमी विवरणको जिम्मेवारी कसैको पनि नहुने भएको भन्दै भड्काउने खालको गैरजिम्मेवार अभिव्यक्तिप्रति सङ्घले खेद प्रकट गरेको छ ।
सङ्घले यही फागुन १२ गते पोखराबाट जोमसोम जानेक्रममा म्याग्दीको सोलीघोप्टेमा भएको दुर्घटनामा परी विमानका चालकदलका तीनसहित २३ जनाको निधन र फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान कालिकोटको चिलखायामा भएको दुर्घटनामा चालकदलका दुई सदस्यको मृत्यु भएकोप्रति चिरशान्तिको कामना र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेको छ । साथै, सङ्घले घाइतेको स्वास्थ्यलाभको कामनासमेत गरेको छ । रासस

0 Response to "विमान दुर्घटना रोक्न आइडिया दिने महावीरलाई विज्ञप्ति निकालेरै धम्की !"

Post a Comment

Powered by सुदिप श्रेष्ठ